निर्माण व्यवसायी विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौँले आदेश दिएको छ। बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग धरौटी माग गरेको हो। पाण्डे राप्रपाका वरिष्ठ उपाध्यक्ष पनि हुन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख ११ गते पक्राउ गरेको थियो। सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको उनलाई आरोप लागेको छ। यस मुद्दामा प्रहरीले २२ जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये १२ जना पक्राउ परेका थिए।
जिल्ला अदालतले पाण्डेसहित ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले नुवाकोटका प्रकाश ढुंगानसँग चार लाख, तनहुँका सञ्जय भट्टसँग १० लाख, सुनसरीका जीवनकुमार दाससँग पाँच लाख र काठमाडौँका अमृत बोहोरासँग चार लाख धरौटी माग गरेको हो।
यस्तै, मकवानपुरका सागर कटुवाललाई पाँच लाख, दोलखाका अनिल श्रेष्ठलाई चार लाख, काठमाडौँका भाष्करराज अर्याललाई १० लाख, धादिङका टंककुमार श्रेष्ठलाई चार लाख, सिराहाका स्वदेश पोखरेललाई चार लाख र काठमाडौँका ऋषिकेश गौलीलाई चार लाख रुपैयाँ धरौटी छोड्न आदेश भएको छ।
यस मुद्दामा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।















