कीर्तिपुरमा युवकको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। काठमाडौँको कीर्तिपुरमा वैशाख २३ गते गुल्मीको धुरकोटका विपिन घिमिरेको खुकुरी प्रहार गरि हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोप लागेका तीन जना त्यही दिन पक्राउ परेका थिए भने एक जना सुजन शाही फरार रहेका थिए।
सुजन लुगेर बसेको सूचनाका आधारमा बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चोभार पुगेको थियो। प्रहरी टोलीले उनलाई नियन्त्रण लिन खोज्दा आक्रमण गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए।
प्रहरीमाथि आक्रमण गरेपछि दुई राउन्ड गोली चलानु परेको एसएसपी खड्काको भनाइ छ। सामान्य विषयमा विवाद हुँदा विपिनमाथि खुकुरी प्रहार भएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।















