विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

Image

प्रतिनिधि सभाबाट सरकारको आर्थिक वर्ष २०८३/८४ कोनीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच बिहीबार साँझ सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको हो।

नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै विपक्षी दलहरूले पटक पटबक संसद बैठक अवरुद्ध गरेका थिए। सभामुख सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास गरेका थिए।

तर, सहमति हुन नसकेपछि प्रतिपक्षी दलहरुको अवरोध र बहिष्कारबीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन समय दिएका थिए।

त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध जारी राखेका थिए। नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव पेस भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भए।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार पारित गरिएको हो।