प्रतिनिधि सभाको आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ। जसमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम भने समेटिएको छैन। शनिबार प्रतिनिधि सभाको आउँदो असार १५ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ बमोजिम म्यालेन्डर सार्वजनिक गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ। नियमालवीको नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।’
यस नियमअनुसार, अहिलेसम्म हरेक सबै प्रधानमन्त्रीले कम्तिमा एक घण्टा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै आएका थिए। तर, यस पटक प्रतिनिधि सभाले सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको छैन।
प्रतिनिधि सभाको क्यालेन्डरमा जेठ ४ र ५ गते शून्य समय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि जेठ ६ गतेको सम्भावित कार्यसूचीमा शून्य समय, विशेष समय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलमा उठेका प्रश्नहरूको जावफ, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल संशोधन प्रस्तुत र पारित गर्ने रहेको छ।
जेठ ७ गतेको बैठकमा शून्य समय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ माथि विचार गरियोस भन्ने भन्ने प्रस्ताव प्रस्तुत, वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि अर्को बैठक जेठ १२ गते बस्ने तय क्यालेन्डर छ।
असार पहिलो साता तीन बैठक बस्ने सम्भावित कार्यसूची छ। जसमा असार १ गते शून्य समय, विनियोजन विधेयक २०८३ अन्तर्गतको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ प्रारम्भ हुने कार्यसूची छ।
त्यस्तै, असार २ गतेमा शून्य समय, विनियोजन विधेयक २०८३ अन्तर्गत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ, सबै मन्त्रालयका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत र विनियोजन विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ।
असार ३ गते शून्य समय, विशेष समय, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची छ।
त्यसपछि असार ८ गते प्रतिनिधि सभाको बैठक बस्ने तय गरिएको छ। यस दिन पनि शून्य समय, विशेष समय, आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ। यसरी जेठ र असार १५ गतेसम्मको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर समेटिएको छैन। प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको पनि जवाफ दिएका थिएनन्। उनको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदका प्रश्नको उत्तर दिएका थिए।
















