सरकारले सुर्तीजन्य पदार्थ र मदिराको करलाई सिधै स्वास्थ्य बिमामा लगाउने तयारी गरेको छ । आइतबार (जेठ १०) काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन यस्तो उपाय अवलम्बन गर्न लागिएको बताएकी हुन् ।
पूर्वस्वास्थ्यमन्त्री डा. कार्कीका अनुसार, सुर्ती र मदिराजन्य पदार्थमा लाग्ने कर (सिन्ट्याक्स)लाई सिधै बिमा कोषमा जम्मा गर्ने गरी पुनर्संरचनाको काम भइरहेको छ । धराशायी स्वास्थ्य बिमालाई जोगाउन यस किसिमको ‘मोडेल’मा जान जोड दिइएको उनले बताइन् ।
“हाल स्वास्थ्य बिमा कार्यक्रम धराशायी अवस्थामा पुगेको छ । यसलाई बचाउन लगानीको स्रोत सुनिश्चित गर्न खोजिएको छ । यस योजनाअनुसार अब सुर्तीजन्य पदार्थ, मदिरा र अस्वस्थकर खाद्यान्नबाट उठाइने करलाई सिधै स्वास्थ्य बिमामा खर्च गरिनेछ,” उनले भनिन् ।
हानिकारक वस्तुको करलाई स्वास्थ्य क्षेत्रमै लगाउनु बढी न्यायोचित र तर्कसंगत हुने उनले बताइन् ।
उनले स्वास्थ्य बिमाको पुनर्संरचनाका निम्ति विगत एक–डेढ हप्तादेखि अर्थसचिव र सरोकारवालासँग मिलेर विभिन्न मोडल तयार पार्ने कार्य भइरहेको जानकारी दिइन् । आउँदो बजेटमा सिन्ट्याक्सको विषयलाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्य बिमाको नयाँ ढाँचा तयार पार्न अर्थ मन्त्रालयले पनि सकारात्मक संकेत दिएको उनले बताइन् ।
यो नयाँ नीतिको मुख्य उद्देश्य स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउनु र गरिब नागरिकलाई उपचारको पहुँच सुनिश्चित गर्नु रहेको उनले स्पष्ट पारिन् ।
















