बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
आजको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले समसामयिक विषय तथा आगामी अधिवेशनका प्राथमिकताबारे धारणा राख्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाको यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विधेयकमाथिको छलफलमा केन्द्रित रहने जनाइएको छ । सरकारले आगामी वर्षका विकास योजना, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको छ ।
















