नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

Image

नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पद खुल्ला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने गरी वैशाख २८ र २९ गते परीक्षा लिएको थियो । महानिर्देशकका लागी परेको २१ जना मध्येबाट प्रतिस्पर्धा गर्दै उनले बाजी मारेका हुन्।

तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई २०८२ मंसिर १७ गते भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा परेका थिए। उनको कार्यकाल माघ १७ गतेसम्म रहेकोले सरकारले तत्कालै नयाँ महानिर्देशक पठाउन नमिलेपछि पुस ४ गतेबाट देवचन्द्र लाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।

अधिकारी पक्राउ परेलगत्तै डंगोल केही दिनका लागि निमित्त महानिर्देशक समेत बनेका थिए।