सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक ९गाइड० मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए ।
पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । शेर्पा हिमाल आरोहण गरेर फर्किने क्रममा एक जना इरानी पर्यटक सहित बेपत्ता भएका थिए ।
शेर्पा भारतीय र इरानी पर्यटकको सहयोगीका रूपमा गत २०८२ माघ १ गते मकालु हिमाल आरोहणमा गएका थिए । उनीहरू मकालु हिमाल आरोहण गरेर क्याम्प ४ बाट क्याम्प ३ फर्किने क्रममा लडेर बेपत्ता भएका थिए ।
घटना लगत्तै कैलाश एयरको हेलिकप्टरमार्फत खोजी कार्य सञ्चालन गरिएको भए पनि उनीहरू फेला परेका थिएनन् ।
हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गरेपछि खोज तथा उद्धार टोली पैदलमार्ग हुँदै सम्भावित घटनास्थलतर्फ गएको थियो ।
मकालु एड्भेन्चरका सञ्चालक मोहन लम्सालसहित ८ जनाको टोली खोजी अभियानमा खटिएको प्रहरीले जनाएको छ ।
शेर्पासँगै आरोहणमा सहभागी भारतीय नागरिक भने सकुशल फेला परेका थिए । आरोहण गरेर फर्किने क्रममा शेर्पा सँगै बेपत्ता भएका इरानी नागरिक अबोलजी गोजाली अझै फेला पर्ने सकेका छैनन् ।
लामो खोजीपछि शेर्पाको शव मकालु हाई क्याम्प क्षेत्रमा फेला परेको हो । मृतक शेर्पाको शव कैलाश एयरको हेलिकप्टर मार्फत काठमाडौँस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको प्रहरीले जनाएको छ ।
















