अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण भेटिएको छ।
अमेरिकी सञ्चारमाध्यम फक्स फाइभका अनुसार सन् २०२४ जुलाई–अगस्टमा मनासास पार्कस्थित आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्रा फेला परेका हुन्।
भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताका अनुसार बरामद प्रमाण अहिले राज्यका अधिकारीले थप परीक्षण गरिरहेका छन्।
अदालतको अभिलेखअनुसार आरामा फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’का लागि उपयुक्त हुन सक्ने देखिएपछि विस्तृत परीक्षणका लागि फरेन्सिक बायोलोजी सेक्सनमा पठाइएको छ।
आराबाट बरामद ती कपाल अहिले राज्यको सेन्ट्रल ल्याबोरेटरीमा थप डीएनए विश्लेषणको प्रक्रियामा छन्। हाल ममताका श्रीमान् नरेश भट्टमा हिरासतमा छन्। उनविरुद्ध श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोग छ।















