झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ।
प्रहरीका अनुसार उक्त शव दमक नगरपालिका–८ बसन्तटोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको पुष्टि भएको हो। उनको शव रतुवा खोलामा भेटिएको थियो ।
रमा गत जेठ १३ गते राति घरबाट हराएकी थिइन्। परिवारले उनको खोजी गरिरहेको अवस्थामा शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थितिले पनि शव फालिएको जस्तो देखिएको प्रहरीको भनाइ छ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए। मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नी छोरी भएको पहिचान गरेका थिए।
घरबाट हराएपछि परिवारले प्रहरीलाई जानकारी गराएको र खोजी जारी रहेकै क्रममा युवतीको शव विभत्स अवस्थामा फेला परेको हो। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















