गत साता आएको हुरीसहितको वर्षाले झापाका विभिन्न स्थानमा गरिएको व्यावसायिक केराखेतीमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबरको क्षति भएको अनुमान गरिएको छ।कृषि ज्ञान केन्द्र झापाका अनुसार यस वर्ष जिल्लामा एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। हुरी र वर्षाका कारण २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकाका व्यावसायिक केराखेती क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ। झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाई नगरपालिका–५ मा लगाइएको केराखेती हुरीका कारण प्रभावित भएको हो।केन्द्रका अनुसार प्रभावित क्षेत्रमध्ये २९.९७ हेक्टरमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको छ। उत्पादनका लागि तयार भइसकेका केराका बोट ढलेपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।झापा गाउँपालिका–३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्णरूपमा नष्ट हुँदा २०.१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ। त्यस्तै, सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको छ। उक्त क्षेत्रमा २५.५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित भएको र ५१२.५५ मेट्रिक टन उत्पादन नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा समेत हुरीले क्षति पुर्याएको छ। त्यस क्षेत्रबाट उत्पादन हुने ४०.२ मेट्रिक टन केरा नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।झापा गाउँपालिका–३ मा कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा सञ्चालन गरेको व्यावसायिक केराखेतीमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।केराखेतीमा भएको व्यापक क्षतिले किसानहरू थप समस्यामा परेका छन्। अधिकांश किसानले बाली बीमा नगरेकाले क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ।
आर्थिक वर्ष २०८२/८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१०.२ मेट्रिक टन केरा उत्पादन भएको तथ्यांक छ। तर यसपटकको प्राकृतिक विपत्तिले किसानको उत्पादन र आम्दानी दुवैमा गम्भीर असर पार्ने देखिएको छ।














