इरानी पेट्रोकेमिकल प्लान्टमा इजरायलको आक्रमण

Image

 इजरायली सेनाले सोमबार बिहान दक्षिण–पश्चिमी इरानमा रहेको एक पेट्रोकेमिकल प्लान्टमा आक्रमण गरेको छ । इरानी तथा इजरायली अधिकारीहरूले उक्त आक्रमण भएको पुष्टि गरेका छन् ।

इरानको सरकार–नियन्त्रित फार्स समाचार एजेन्सीका अनुसार, खुजेस्तान प्रान्तका एक स्थानीय अधिकारीले माहशाहर सहरनजिक रहेको कारुन पेट्रोकेमिकल प्लान्टमा क्षेप्यास्त्र प्रहार भएको बताएका छन् । त्यसबाट प्लान्ट आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।

इजरायली सेनाले पनि उक्त औद्योगिक परिसरभित्र रहेका विभिन्न ठाउँहरूमा आक्रमण गरिएको जनाएको छ । यद्यपि, आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण तत्काल सार्वजनिक गरिएको छैन ।

यसैबीच, इजरायली सेनाले सोमबार बिहान इरानबाट आफ्नो भूभागतर्फ प्रहार गरिएको दोस्रो चरणको क्षेप्यास्त्र आक्रमणलाई सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी खतराहरूलाई बीचमै नष्ट गर्न हवाई रक्षा प्रणालीहरू सक्रिय रूपमा परिचालन गरिएका छन् ।”