काभ्रेको बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुने ८ जनामध्ये ६ जनाको मात्रै सनाखत भएको छ। जसमा एक जना नेपाली सेनाका अमल्दार पनि छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक महिला र एक पुरुषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सनाखत हुनेमा त्रिनेत्र दल गण भकुन्डेबेँसीमा कार्यरत नेपाली सेनाका अमल्दार दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेको रोसी गाउँपालिका-६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही ठाउँकी ३४ वर्षीया फुलमाया तामाङ, ७५ वर्षका इन्द्रबहादुर तामाङ, रोसी ८ की ६० वर्षीया प्यारी माया तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका-४ की २२ वर्षीया सुमि तामाङ छन्।
सुमिको सनाखत उनको पति निराजन घिसिङले गरेका हुन्। अझै अन्दाजी ६० वर्षीय एक पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ।
बनेपाबाट काभ्रेकै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बस दुर्घटनाको कारण पत्ता लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ। कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
साथै घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।













