कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको गोराङ्गे ब्यारेक अन्तर्गत फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा घाइते भएकामध्ये एक सैनिकको मृत्यु भएको छ । अर्का एक घाइते छन्।
इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीका अनुसार बिहीबार बिहान ९:१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट मोहन्याल गाउँपालिका-७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास भइरहेको थियो । सोही क्रममा ग्रिनेड पड्काउँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।
विस्फोटका कारण विष्टको दाहिने हातको हत्केलामा गम्भीर चोट लागेको थियो भने छर्राले शरीरका अन्य भागमा समेत चोट पुर्याएको प्रहरीले जनाएको छ । घटनास्थल नजिक रहेका स-सेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका थिए।
घटनापछि दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि गोराङ्गे ब्यारेकमा राखिएको थियो। बिहान १०:३५ बजे थप उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा विष्टको अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकले विशेष निगरानीमा राखेका थिए।
यसैबीच घाइते सह-सेनानी हिमराज जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीका अनुसार दिउँसो १२ बजे लालरत्न अस्पतालमा उपचारकै क्रममा बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
घटना भएको फायरिङ रेन्ज इलाका प्रहरी कार्यालय चिसापानीबाट करिब ६ किलोमिटर पश्चिममा पर्छ। नियमित सैन्य तालिमका क्रममा भएको उक्त दुर्घटनाबारे नेपाली सेनाले थप अनुसन्धान गरिरहेको जनाएको छ।















