तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन छैटौं दिनमा पनि जारी रहेको छ। आज पदाधिकारीहरूको निर्वाचन सम्पन्न गर्दै महाधिवेशन टुंग्याउने तयारी गरिएको छ।
चितवनमा असार ७ गते उद्घाटन भएको महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो। तर प्रतिनिधि चयनमा देखिएको विवाद तथा केन्द्रीय सदस्य र पदाधिकारी चयन प्रक्रिया अपेक्षाभन्दा ढिलो भएपछि महाधिवेशन लम्बिएको हो।
महाधिवेशन लम्बिँदै जाँदा व्यवस्थापन पक्षलाई आर्थिक तथा व्यवस्थापकीय चुनौती थपिएको छ। खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आयोजकले आज प्रतिनिधिहरूका लागि खानाको व्यवस्था नगर्ने निर्णय गरेको छ। हिजो राति नै व्यवस्थापनले बिहानको चिया मात्रै उपलब्ध गराइने जानकारी गराएको थियो।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। तर अन्य पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन।
रास्वपाको विधानअनुसार पहिले सभापति र केन्द्रीय सदस्यको चयन सम्पन्न भएपछि मात्रै पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइने व्यवस्था रहेको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम भने केही असन्तुष्टि र विवादका बीच बिहीबार सार्वजनिक गरिएको थियो। अब आज पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएपछि पहिलो राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा समापन हुने अपेक्षा गरिएको छ।














