काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना

Image

आज (शुक्रबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार अहिले मधेस प्रदेशका धेरै स्थान तथा कोसी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै कोसी र मधेस प्रदेशका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा भने तातो लहर (हिटवेभ) को सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली–पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा अपराह्नपछि वर्षाको सम्भावना

मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको आकाश बादलले ढाकेको छ। तत्काल वर्षा हुन सक्ने सम्भावना कम भए पनि एक–दुई घण्टापछि बादल केही हटेर घाम लाग्ने र त्यसपछि अपराह्नतिर फेरि बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताएका छन्।

वर्षाको मापन कसरी गरिन्छ ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म भए मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भए भारी वर्षा मानिन्छ।

यस्तै १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिने मौसमविद्हरूले बताएका छन्।

‘एक–दुई स्थान’ र ‘धेरै स्थान’ भन्नाले के बुझिन्छ ?

मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीअनुसार १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना भए एक–दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा भए थोरै स्थान, ३० देखि ५० प्रतिशत भूभागमा भए केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा भए धेरै स्थान तथा ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए अधिकांश स्थानमा वर्षा हुने भनिन्छ।