९ वर्ष कारागार बसेर फर्केका कांग्रेस नेता अभिषेक गिरी फेरि पक्राउ

Image

मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ । शनिबार बिहान विराटनगर– ११, मधुमारास्थित घरबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लाे समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

शंकास्पद बस्तु (अवैध हतियार)लुकाएको आशंकामा शनिबार बिहान प्रहरी टोली गिरीको घरमा छापा मार्न पुगेको थियो । यद्यपि, हतियार भने नभेटिएको प्रहरी स्रोतले बतायो । शंकास्पद बस्तु नभेटिएपछि प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता र अन्य रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो ।

शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए । कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप छ ।

अपहरण तथा शरिर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी दुई वर्षअघि कारागारबाट छुटेका थिए । कारागारबाट छुटेपछि उनी आफ्नै नेतृत्वमा गिरी फाउन्डेशन स्थापना गरेर सामाजिक कार्य गर्ने भन्दै सक्रिय भए । फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महानमन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए ।