बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपदबाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका अन्य सवारीसाधन रातिको समयमा सञ्चालनमा रोक लगाउने निर्णय गरेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिए ।
बेँसीसहर-चामे सडकको बेँसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उनले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने पूर्वानुमान गरेकाले र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन भनेकाले सो निर्णय गरिएको हो ।
बेँसीसहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म ३५ किलोमिटर पर्दछ भने बेँसीसहरबाट चामे मनाङसम्म ६५ किलोमिटर दूरी पर्दछ । यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सडक हो ।
लमजुङ र मनाङ जोड्ने एक मात्रै सडकका रूपमा रहेको यो खण्डमा बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी बढी मर्कामा पर्दै आएका छन् । यो सडक लामो समय अवरुद्ध हुँदा हेलिक्टरमार्फत स्थानीय आवतजावत गर्न बाध्य हुँदै आएको छन् ।
त्यस्तै राइनास नगरपालिकाबाट मध्यनेपाल नगरपालिका तथा कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा ४८ किलोमिटर पर्दछ ।
यस सडकको विशेष गरी मध्यनेपाल नगरपालिका-१० बीमिरे भञ्ज्याङमा बढीपहिरो जाने र सडक अवरुद्ध हुने समस्या सहँदै आएको छ । विशेष गरी यो सडक मनाङ र लमजुङका स्थानीयले पोखरा जानआउनको लागि प्रयोग गर्दछन् ।















