कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

Image

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको शिवपुरी लक्जरी कोच प्रालिको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका निवासी ४२ वर्षीय हरिसिंह महरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला र चितवनका गरी २२ जना यात्रु घाइते भएका छन्।प्रहरीका अनुसार घाइतेहरूको टाउको, हात, खुट्टा, छाती तथा कम्मरमा चोट लागेको छ। उनीहरूलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा रिफर गरिएको छ।

दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए। घाइते नभएका बाँकी २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केही समय अवरुद्ध बनेको हुलाकी सडकखण्डमा दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले हटाइएपछि दुवैतर्फको सवारी आवागमन पुनः सुचारु भएको छ।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।