अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने आदेश त्यहाँको सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै अमेरिकामा अवैध रूपमा वा अस्थायी रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेकाहरूलाई जन्मजात अमेरिकाको नागरिकता नदिइने आदेश जारी गरेका थिए।
ट्रम्पको यो आदेशलाई पहिले तल्ला अदालतहरूले रोक लगाएका थिए भने अहिले सर्वोच्च अदालतले ६-३ को निर्णयमा जन्मसिद्ध नागरिकतालाई समर्थन गरेको हो।
प्रधानन्यायाधीश जोन रोबर्ट्सले उक्त निर्णय गरेका हुन्। उनले भने, ‘अवैध रूपमा वा अस्थायी रूपमा अमेरिकामा रहेका आमाबाबुका बच्चाहरू पनि अमेरिकाको संविधानअन्तर्गत जन्मका आधारमा नागरिक हुन्।’
उल्लेखनीय छ- अमेरिका ती ३० देशमध्ये एक हो, जसले आफ्नो देशमा जन्मानासाथ स्वत: नागरिकता दिन्छन्।















