काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन्।
काठमाडौँ महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन्। शान्ति बाटिकामा रहेको संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उनको भनाई छ। शान्तिबाटिकामा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरू हटाएर वडाअध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिइन्।
उनले भनिन्, ‘शान्ति बाटिकाको विषय आएको छ, त्यो स्ट्रक्चर यथासम्भव आजै हटाए पनि हुन्छ। त्यहाँ कानूनी रुपमा कुनैपनि व्यवधान छैन। त्यो कामलाई आजै कार्यान्वयन गरेर तस्बिरसहित हामीलाई अपडेट गराउनुहोला, वडा अध्यक्षज्यूलाई पनि गराउनु होला।’
उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छन्। उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाई नगर्न निर्देशन दिएकी हुन्।
कार्यवाहक प्रमुख डंगोलले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन्। उनले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताइन्।
जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको डंगोलले जानकारी दिइन्।
उनले अव्यवस्थित बसोबास र सुकुम्बासी व्यवस्थापन गर्न भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिइन्।














