पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको राजीनामा घोषणा

Image

पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले सन् २०२६ फिफा विश्वकपबाट टोली बाहिरिएलगत्तै आफ्नो पदबाट घोषणा गरेका छन्। स्पेनसँग १–० ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएपछि उनले अब प्रशिक्षकका रूपमा निरन्तरता दिनुको कुनै अर्थ नरहेको बताएका थिए।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मार्टिनेजले भने, ‘विश्वकप जित्न नसकेपछि अब निरन्तरता दिनुको कुनै अर्थ छैन।’ उनले आफ्नो मुख्य लक्ष्य पोर्चुगललाई पहिलो पटक विश्वकप च्याम्पियन बनाउनु रहेको उल्लेख गर्दै त्यो लक्ष्य पूरा हुन नसकेपछि पद छोड्ने निर्णय गरेको बताए।

सन् २०२३ मा पोर्चुगलको जिम्मेवारी सम्हालेका मार्टिनेजले करिब साढे तीन वर्ष टोलीको नेतृत्व गरेका थिए। उनले खेलाडी, प्रशिक्षक समूह र समर्थकप्रति आभार व्यक्त गर्दै पोर्चुगलको प्रशिक्षक बन्न पाउनु आफ्नो लागि सम्मानको विषय रहेको बताए।

मार्टिनेजले टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको पनि खुलेर प्रशंसा गर्दै उनको नेतृत्व, समर्पण र टोलीप्रतिको योगदान अतुलनीय रहेको बताए। विश्वकपपछि पोर्चुगल फुटबल महासंघले अब नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।