सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। उनी घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका थिए।
प्रहरीका अनुसार अवासका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो करिब २:३० बजे घरबाट खेल्न निस्किएका थिए। खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त खाल्डो गाई, गोरु, भैंसीलगायत पशुहरूलाई पानी खुवाउने उद्देश्यले निर्माण गरिएको बताइएको छ। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले तीनै जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।














