अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् ।शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयको तर्फबाट आस्था भट्टलाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो। उनले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालिसकेकी छन्।
नियुक्त भएकी भट्ट इन्स्टिच्युट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजकी कार्यक्रम विशेषज्ञ हुन्। अर्थमन्त्री बन्नुअघि स्वर्णिम वाग्ले सोही संस्थाका चेयरम्यान एमेरिटस थिए।
राष्ट्रिय वाणिज्य बैंकमा हाल भट्ट दोस्रो वरीयताकी सञ्चालक बनेकी छन्। पहिलो वरीयतामा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल रहेका छन्। बैंकको सञ्चालक समितिका सदस्यहरूमध्येबाट अब एक जना अध्यक्ष चयन हुने व्यवस्था छ। आस्था भट्ट सञ्चालकमा नियुक्त भएको र सोमबारदेखि कार्यभार सम्हालेकी छन् ।
राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंक हो, जो अर्थ मन्त्रालयमातहत रहने गर्छ । तालुक मन्त्रालयका मन्त्रीले आफू कार्यरत संस्थाको कर्मचारीलाई बैंकको सञ्चालक बनाएपछि उनले संस्थाको हितभन्दा पनि मन्त्रीको स्वार्थअनुरुप काम गर्नसक्ने जोखिम हुन्छ ।















