अमेरिका–साउदीबीच ऐतिहासिक आणविक ऊर्जा सम्झौता, शान्तिपूर्ण सहयोगदेखि सुरक्षा साझेदारीसम्म

Image

संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले ऐतिहासिक आणविक ऊर्जा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण आणविक सहयोग सम्झौता’ हो, जसले साउदी अरेबियालाई आफ्नो नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्ने बाटो खुला गरेको छ।

सम्झौताअनुसार अमेरिकी कम्पनीहरूले साउदी अरेबियाको आणविक ऊर्जा कार्यक्रमको विकास, पूर्वाधार निर्माण तथा प्राविधिक सहयोगमा व्यापक रूपमा सहभागी हुन पाउनेछन्। यद्यपि, सम्झौताको पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त सम्झौताले भविष्यमा साउदी अरेबियालाई युरेनियम समृद्ध गर्ने अनुमति दिन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। समृद्ध युरेनियम आणविक ऊर्जा उत्पादनका लागि आवश्यक इन्धन भए पनि यही प्रविधि आणविक हतियार निर्माणमा समेत प्रयोग गर्न सकिने भएकाले यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।

विज्ञहरूले यस्तो व्यवस्था लागू भएमा अमेरिकाले पहिलोपटक कुनै नयाँ साझेदार राष्ट्रलाई युरेनियम समृद्ध गर्ने अनुमति दिने अवस्था सिर्जना हुन सक्ने बताएका छन्। यसले पहिलेदेखि नै तनावग्रस्त पश्चिम एसियामा आणविक हतियारको प्रतिस्पर्धा र प्रसारको जोखिम बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अमेरिकी ऊर्जा विभागले आणविक सहयोग सम्झौतासँगै अमेरिका र साउदी अरेबियाबीच द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको जनाएको छ। दुवै देशले ऊर्जा, सुरक्षा र रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले यी सम्झौताहरू गरेका हुन्।