ब्रड पिकको ५,७०० मिटर उचाइमा भेटियो निम्सदाइको शव

Image

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको शव भेटिएको छ।
पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार आइतबार उद्धार टोलीले समुद्री सतहबाट करिब ५ हजार ७ सय मिटर उचाइमा निम्सदाइको शव भेटाएको हो। उनी हिमपहिरोमा परेर बेपत्ता भएको तीन दिनपछि शव भेटिएको हो।

अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिमा निम्सदाइको शवसँगै थप तीन शव पनि देखिएको, तर उनीहरूको पहिचान अझै पुष्टि हुन बाँकी रहेको जनाएको छ। उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको छ।

यसअघि शनिबार आरोहण व्यवस्थापन कम्पनी एलिट एक्सपिड ले अभियानमा सहभागी सबै १० आरोहीको मृत्यु भएको पुष्टि गरेको थियो। तीमध्ये पाकिस्तानी पर्वतारोही सोहेल साखी पनि थिए। साथै, तीन आरोहीको शव फेला परिसकेको र अमेरिकाका एक आरोहीको हुनसक्ने अवशेषसमेत भेटिएको जानकारी सार्वजनिक गरिएको थियो।

अल्पाइन क्लबले उद्धार कार्य अझै अत्यन्त कठिन भौगोलिक अवस्थाबीच जारी रहेको जनाएको छ। क्लबका महासचिव अयाज शिग्री का अनुसार उद्धार टोली एड्भान्स बेस क्याम्पतर्फ अघि बढिरहेको छ। हिमपहिरोको उच्च जोखिम, भीरालो भूभाग र प्रतिकूल मौसमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। खराब मौसमका कारण हेलिकप्टर परिचालन गर्न नसकिएकाले उद्धार पूर्ण रूपमा स्थलमार्गबाट भइरहेको छ।

आइतबार बिहान ९ बजेअघि पाकिस्तान र नेपालका अनुभवी पर्वतारोही सम्मिलित आठ सदस्यीय संयुक्त उद्धार टोली क्याम्प–१ पुगेको थियो। त्यसपछि टोलीले ब्रोड पिकको कठिन ढलानमा खोज तथा शव उद्धार अभियान अघि बढाएको एसीपीले जनाएको छ।