पाकिस्तानमा हराइरहेका ६ नेपाली आरोहीमध्ये ५ जनाको शव सनाखत

Image

पाकिस्तानको ब्रड पिक हिमपहिरोमा बेपत्ता भएका १० जनामध्ये ८ जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। आइतबार अपराह्नसम्म हिमपहिरोमा हराइरहेका आरोहीमध्ये ८ जनाको शव उद्धारकर्ताहरूले फेला पारेका हुन्।  बिहीबार गएको हिमपहिरोमा परेर विश्वप्रख्यात नेपालीमूलका आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० जना हराएका थिए।

हालसम्म हराइरहेका नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित स्थानमा झारिसकिएको पराराष्ट्र मन्त्रालयले जनाएको छ। 

‘दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ “युक्ता” र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको छ भने बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ’, परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। 

प्राप्त जानकारीअनुसार नेपाली आरोहीहरू निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’ र निमा शेर्पाको शव उद्धारकर्ताले आइतबार फेला पारेर अहिले क्याम्प १ तर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको स्थान स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि सनाखत भने हुन सकेको छैन।

हराइरहेका नेपाली आरोहीमध्ये नवाङ थिन्डु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ।  

नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा साउन १४ गते ६,६०० मिटरको उचाइमा (क्याम्प-२ बाट क्याम्प-३ जाने क्रममा) गएको विनाशकारी हिम पहिरोमा परी आरोहीहरूको निधन भएको हो।