जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ

Image

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४७ जनालाई पक्राउ गरेको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी बस्ने जगदीश भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय सुरेश चन्द समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ४० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने बागलुङ घर भएका ३१ वर्षीय संजय पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजय समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

यसैगरी ललितपुर महानगरपालिका—१४ सुम्निमा मार्गस्थित ललितपुर नखिपोट बस्ने भोजपुर घर भएका ५६ वर्षीय सुबज राईले सञ्चालन गरेको फर्निचर पसलमा जुवातास खेलिरहेको अवस्थामा सुबज समेत २१ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ७ सय ६० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो।

चितवनको भरतपुर महानगरपालिका–१० अष्ठभुजा पेट्रोल पम्प पछाडी तनहुँ घर भएका ३७ वर्षीय कमल बहादुर न्यौपानेले सञ्चालन गरेको विकल्प खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कमल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।