सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज बस्दै छन्। बैठकमा विधेयक, प्रतिवेदन तथा समितिमा दर्ता भएका उजुरीलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक आज फरक–फरक समयमा बस्नेछ।
अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजे बस्नेछ। उक्त बैठकमा समितिमा प्राप्त विभिन्न उजुरीमाथि छलफल हुने सचिवालयले जनाएको छ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनुका साथै नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल हुने भएको छ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।














