नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।
सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत सोमबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। तर, मुद्दा दायर हुँदा उनी अदालतमा उपस्थित नभएकाले अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतको पक्राउ पुर्जीका आधारमा सीआईबीले सहसचिव भट्टराईलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार अब उनीमाथि राहदानी कसुरसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।















