हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्नेछ।
यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।














