फेसबुकबाट सुरु भएको प्रेमको जालो, कास्कीकी महिलाको ३१ लाख गायब

Image

प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ–नयाँ शैली देखा परिरहेका बेला कास्कीमा सामाजिक सञ्जालमार्फत भएको एउटा गम्भीर ठगीको घटना सार्वजनिक भएको छ। अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा प्रेमको जालो बुनेर एक महिलाबाट ३१ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनाको सुरुवात फेसबुकबाट भएको थियो। यूकेको कोड प्रयोग भएको ह्वाट्सएप नम्बरबाट सम्पर्कमा आएका एक व्यक्तिले आफू अविवाहित र बेलायतमा ठूलो सम्पत्ति भएको बताउँदै ती महिलासँग मित्रता गाँसेका थिए।

कुराकानी बढ्दै गएपछि उनले बेलायतको सम्पत्ति बेचेर नेपाल आउने र घरजग्गा किनेर ती महिलासँगै जीवन बिताउने आश्वासन दिएका थिए। विश्वास दिलाउन उनले विमानस्थलका भिडियो पठाउनुका साथै भिडियो कलसमेत गर्ने गरेको प्रहरीले जनाएको छ।

केही समयपछि आफू भारत हुँदै नेपाल आउन लागेको भन्दै ती व्यक्तिले जानकारी दिए। त्यसलगत्तै भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर भएको अर्को ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आयो।

फोन गर्ने व्यक्तिले ती महिलाका ‘साथी’ ठूलो रकम र सम्पत्तिसहित पक्राउ परेको भन्दै उनलाई छुटाउन भन्सार र जरिबानाका लागि पैसा आवश्यक रहेको बताएका थिए।

आफ्नो भावी श्रीमान् ठानेका व्यक्ति समस्यामा परेको विश्वासमा महिलाले पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन्। त्यसपछि आफू ठगिएको आशंका लागेपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।

प्रहरीले अनुसन्धानपछि यो ठगी भएको भन्दै थप रकम नपठाउन सचेत गरायो। तर ठगीमा संलग्न व्यक्तिको मनोवैज्ञानिक प्रभावका कारण प्रहरीको चेतावनीपछि पनि महिलाले पुनः २२ लाख रुपैयाँ पठाएको प्रहरीले जनाएको छ।

ती व्यक्तिले ‘अब म निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भन्दै भावनात्मक दबाब दिएको प्रहरीको भनाइ छ।

अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधमा संलग्न रहेको पुष्टि भएपछि मात्रै ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरेकी थिइन्।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो। पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट विभिन्न शैली अपनाएर ठगी गर्ने क्रम बढेको छ।

प्रहरीका अनुसार फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, सामान अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी प्रयोग गरी बैंक खाताबाट रकम निकाल्ने गरिएको छ।

त्यस्तै, आफन्त वा साथीको फेसबुक तथा ह्वाट्सएप अकाउन्ट ह्याक गरी ‘संकटमा छु, तुरुन्त पैसा पठाइदिनू’ भन्दै रकम माग्ने, आकर्षक वैदेशिक रोजगारी वा विदेश जाने अवसरको प्रलोभन देखाएर नक्कली कागजात बनाउने र ‘प्रोसेसिङ’का नाममा रकम असुल्ने गिरोह पनि सक्रिय रहेको प्रहरीले जनाएको छ।

बैंक, ई–सेवा वा खल्तीजस्ता संस्थाको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने तथा खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्तिसमेत बढेको प्रहरीको भनाइ छ।

यस्तै, सुरुमा थोरै रकम लगानी गराएर दोब्बर रकम फिर्ता दिने र विश्वास जितेपछि ठूलो रकम लगानी गर्न लगाएर सम्पर्कविहीन हुने नक्कली लगानी तथा अनलाइन बेटिङका स्किमबाट समेत सर्वसाधारण ठगिने गरेका छन्।

सूचना अधिकारी पासवानले अपरिचित व्यक्तिले सामाजिक सञ्जालमार्फत दिने प्रलोभनमा नपर्न आग्रह गरेका छन्। थोरै लगानीमा धेरै नाफा वा महँगो सामान निकै सस्तोमा उपलब्ध गराउने आश्वासनलाई ठगीको संकेतका रूपमा लिनुपर्ने उनको भनाइ छ।

प्रहरीले बैंक खाता विवरण, पिन र ओटीपी कसैलाई नदिन, शंकास्पद लिंक नखोल्न, अनधिकृत एप डाउनलोड नगर्न तथा अनलाइन कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।