क्यामरुनको सिमानानजिकै सुनखानीमा पहिरो, १०० जनाको मृत्यु

Image

क्यामरुनको सिमानानजिकै रहेको सेन्ट्रल अफ्रिकन रिपब्लिकको पश्चिमी क्षेत्रमा एउटा सुनखानीमा पहिरो गएको छ । एक स्थानीय अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार घटनामा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।

सार्वजनिक भएका भिडियोहरूमा खानीको एउटा भाग मानिसहरूमाथि खसिरहेको देखिन्छ । भिडियोमा केही मानिस ज्यान जोगाउन भागिरहेको देख्न सकिन्छ । क्यामरुनको सीमासँग जोडिएको सहर गरुआ–बुलाईका मेयर अदमो अब्दोनले बीबीसीलाई बताएअनुसार दुर्घटना मंगलबार दिउँसो भएको हो । घटनापछि उद्धार तथा राहत अभियान जारी छ । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् ।

खानीमा के कारणले पहिरो गएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन । मेयर अब्दोनले हालसम्म मलबाबाट १०७ वटा शव निकालिएको जानकारी दिएका छन् ।

दुर्घटनामा बाँच्न सफल खानी श्रमिक सेड्रिक मबांगोले जमिन पूर्ण रूपमा धसिएको बताउ । मानिसहरू भग्नावशेषमै पुरिएको उनले एएफपीलाई बताए । क्यामरुनको इस्ट रिजनका गभर्नरका अनुसार, मृत्यु हुनेमध्ये कम्तीमा तीनजना क्यामरुनका नागरिक छन् ।  स्थानीय सञ्चारमाध्यमका अनुसार, अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । 

यस क्षेत्रमा सानास्तरमा परम्परागत शैलीमा गरिने खनन धेरै परिवारको आम्दानीको मुख्य स्रोत हो । तर, खानीमा काम गर्ने अवस्था निकै जोखिमपूर्ण छ । खानी धसिने र पहिरो जाने घटना यस क्षेत्रमा सामान्यजस्तै बनेका छन् ।