जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहराहरू हटाउन थालिएको छ। गुठी संस्थान जनकपुरधामले शनिबारदेखि पोखरीका डिलमा रहेका संरचना हटाउँदै अतिक्रमणमुक्त अभियान सुरु गरेको हो।
संघीय सरकारको निर्णयअनुसार केन्द्रीय गुठी कार्यालय मातहत रहेका जग्गा तथा सार्वजनिक सम्पत्तिलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत जनकपुरधाममा पनि प्रक्रिया अघि बढाइएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जानकारी दिए
प्रमुख साहका अनुसार वि.सं. २०४२ देखि २०४६ सालको बीचमा भएको नयाँ सर्वे नापीमा पोखरीका लागि छुट्याइएको जग्गामा भएका अतिक्रमण पहिचान गरी हटाउने काम सुरु गरिएको हो। उनले अतिक्रमण हटाउने क्रममा नगरवासीलाई संयमित रहन र राज्यपक्षसँग विवाद नगर्न आग्रह गरे। कानुनी प्रक्रिया पूरा गरी अतिक्रमण हटाउने काम अघि बढाइने उनको भनाइ छ।
जनकपुरधामका ऐतिहासिक तथा धार्मिक सम्पदासँग जोडिएका जानकी मन्दिर, राम मन्दिर, रत्न सागर, गंगासागर, राजदेवी मन्दिर, हनुमान मन्दिर तथा धनुषाको थारी मठलगायत राज्य गुठीअन्तर्गत रहेका जग्गा र पोखरीहरूको नापी तथा संरक्षण प्रक्रिया पनि अघि बढाइएको प्रमुख साहले बताए।
स्थानीय तह, गुठी संस्थान र सम्बन्धित निकायको समन्वयमा अतिक्रमित क्षेत्र पहिचान गरी सार्वजनिक तथा गुठी सम्पत्तिको संरक्षण गर्ने अभियानलाई निरन्तरता दिइने जनाइएको छ।












