विश्वकप-२०२६ को फाइनलमा स्पेनसँग हारेपछि मैदानमा भएको झडपका सम्बन्धमा फिफाको अनुशासन समितिले अर्जेन्टिनी टोली र खेलाडीलाई कारबाही गरेको छ। गत विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले हारेको थियो। त्यसपछि अर्जेन्टिनी खेलाडीले विजयी टोलीका खेलाडीलाई मैदानमा कुटिपट गरेका थिए।
त्यसमा संलग्न अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसलाई फिफाले १० खेलमा प्रतिबन्ध लगाएको हो। यस्तै फिफाको अनुशासन समितिले उनका सहकर्मी नहुएल मोलिनालाई सात खेलमा प्रतिबन्ध लगाएको छ।
साथै उनीहरू दुवैलाई ९० हजार डलर (६६,००० पाउन्ड) जरिवाना तिर्न भनिएको छ। विश्वकपको फाइनलमा पारेडेसले स्पेन टोलीका एरिक गार्सियाको घाँटी समातेका थिए भने गाभीलाई भुइँमा पछारेका थिए। साथै उनले गाभीको अनुहारमा प्रहार गरेका थिए।
तर गाभीले पारेडेसलाई कारबाही गरिनु नपर्ने धारणा राखेका थिए। त्यस झडपमा संलग्न गाभी र अर्जेन्टिनाका थियागो अल्माडालाई पनि एक खेलमा प्रतिबन्ध र ३० हजार डलर (२२,००० पाउन्ड) जरिवाना तोकिएको छ।
यस्तै स्पेनका डानी ओल्मोको अनुहारमा प्रहार गरेका अर्जेन्टिनाको प्रशिक्षक टोलीका सदस्य रोबर्टो आयालालाई पनि तीन खेलमा प्रतिबन्ध लगाउँदै फिफाले ३० हजार डलर जरिवाना तोकेको छ।
यो कारबाही अन्तर्राष्ट्रिय खेलमा मात्र लागु हुनेछ। यसैगरी फिफाले अर्जेन्टिनालाई आफ्ना आगामी दुई घरेलु खेल ५० प्रतिशत दर्शक क्षमतामा मात्र खेलाउन पनि आदेश भएको छ। यद्यपि तीमध्ये एउटा खेलको सजाय भने हाललाई स्थगन गरिएको छ।
खेलकुदसँग सम्बन्ध नभएका विषयमा खेलकुद कार्यक्रमको प्रयोग, टोलीको अनुशासनहीन व्यवहार तथा समर्थकबाट भएका विभेदकारी नाराबाजी र हाउभाउका कारण फिफाको आचारसंहिता उल्लंघन गरिएको भन्दै अर्जेन्टिनी फुटबल संघ (एएफए) लाई पनि ३ लाख २१ हजार अमेरिकी डलर (२,३५,००० पाउन्ड) जरिवाना तोकिएको छ।
जरिवानामध्ये १ लाख डलर (७३,००० पाउन्ड) विभेदविरुद्ध लड्ने योजनामा लगानी गर्नुपर्ने आदेश दिइएको छ भने अर्को १ लाख डलर (७३,००० पाउन्ड) बराबरको जरिवानालाई परीक्षण अवधिको सर्तसहित तत्कालका लागि स्थगन गरिएको फिफाले जनाएको छ।
विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका केही खेलाडीले बेलायती अधिनस्थ क्षेत्र फल्कल्यान्ड टापु अर्जेन्टिनाको भएको दाबी गरिएको ब्यानर प्रदर्शन गरेका थिए।
गत महिना न्युयोर्क न्यु जर्सी स्टेडियममा खेलको अन्तिम सिट्ठी बजेपछि अर्जेन्टिनाका धेरै खेलाडी तथा सहायक कर्मचारी र स्पेनका खेलाडीबिच भएको विवाद छानबिन गर्न फिफाले अनुशासनात्मक तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको थियो।
अर्जेन्टिनी फुटबल संघले यी कारबाहीविरुद्ध पुनरावेदन गर्ने बताएको छ। सफल नभएमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा मुद्दा लैजाने संघले जनाएको छ।












