नबिल बैंकले घोषणा गऱ्यो लाभांश, बोनस र नगद कति?

Image

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीहरूका लागि ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश अनुसार ५ प्रतिशत बोनस शेयरबापत १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र १०.८० प्रतिशत नगद लाभांशबापत २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा वितरण गरिनेछ। हाल बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

यसैगरी, सञ्चालक समितिको बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ पनि चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

यो लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि प्रदान गर्न लागिएको हो। बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ।

आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल दिन यो लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित नबिल बैंकले हाल देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

चार दशकदेखि सेवा दिँदै आएको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै समावेशी र समृद्ध अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।