भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

Image


सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालनमा ल्याउन जारी राखेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो। 

विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।  यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटकाे विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुन: सुचारु गरिएको छ। 

ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार  बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुनःसुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको तारकेश्वर–४ पनि सेवा पुन: सुरु भएको छ।  मन्त्री श्रेष्ठकाअनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतितश विद्युत् सेवा पुनःस्थापना भइसकेको छ।

साथै, विद्युत् सेवा पुग्न नसकेका स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइएको मन्त्री श्रेष्ठले बताए। 

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिँदै आएका छन्।