रसुवा भोटेकोसी बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो।
स्वीकृतिअनुसार भारतले दैनिक १८ घण्टा अर्थात् मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म नेपाललाई विद्युत् उपलब्ध गराउनेछ। भारतले मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म विद्युत् निर्यात गर्नेछ।
त्यस्तै, टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत् थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न स्वीकृति दिइएको प्राधिकरणले जनाएको छ।
यसअनुसार दुवै प्रसारण लाइनमार्फत भारतबाट नेपालले अधिकतम ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न सक्नेछ। भारतले सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युतको परिमाण भने सन् २०२६ डिसेम्बरमा पुनरावलोकन गर्ने जनाएको छ।
ऊर्जा पूर्वाधारमा भोटेकोसी बाढीले १ खर्ब ३४ अर्ब रुपैयाँ (८८ करोड ९२ लाख डलर) को क्षति पुर्याएको अनुमान छ। यसमा बाढीले क्षति पुर्याएका उपकरण तथा अन्य वस्तुको प्रतिस्थापन लागत (रिपेल्समेन्ट कस्ट) पनि जोडिएको छ।
यसै गरी बाढीले ऊर्जा क्षेत्रको जलविद्युत् तथा ग्रिडमा १६ अर्ब ३४ करोड रुपैयाँ (१० करोड ७९ लाख डलर) आर्थिक क्षति पुगेको अनुमान छ।
आरडीएनए प्रतिवेदनले क्षतिको मूल्यांकनमा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजना, सबस्टेसन, प्रसारण लाइन, स्वीचयार्ड तथा विद्युत् वितरण पूर्वाधारलाई समेटेको छ।
यस्तै घरपरिवार तथा समुदायस्तरमा प्रयोग भएका नवीकरणीय ऊर्जा प्रविधिको क्षतिको मूल्यांकन पनि गरिएको छ। भोटेकोसी बाढीले १३ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ, जसको कुल क्षमता ७५९.०२५ मेगावाट छ। सात परियोजना बाढीले क्षति पुर्याउनुअघि सञ्चालनमा थिए, जसको क्षमता २५०.४०० मेगावाट थियो।
५०८.६२५ मेगावाटका ६ परियोजना भने निर्माणाधीन थिए। बाढीले सञ्चालनमा रहेका पाँचवटा सौर्य ऊर्जा प्लान्टमा पनि क्षति पुर्याएको छ। सौर्य ऊर्जा प्लान्टबाट २४.३६० मेगावाट बिजुली उत्पादन भइरहेको थियो।













