नेपाली महिलाले आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी मनाउँदैछन्। तीज व्रतको पारायणपछि महिलाले विभिन्न धार्मिक विधि पूरा गर्दै यो पर्व मनाउने परम्परा छ।
पर्वका अवसरमा महिलाले बिहानै उठेर नित्यकर्म सकेपछि नजिकका नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। धर्मशास्त्रीहरूले तीज व्रतको पारायण सकेपछि पञ्चमी स्नानलगायतका धार्मिक कर्म गर्नुपर्ने बताएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी महिलाका लागि विशेष रूपमा निर्धारित पर्व हो।
धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा जानी–नजानी भएको छुइछुईलगायतका त्रुटिबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ। स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको पूजा गरिन्छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस दिनलाई ऋषि पञ्चमी भनिएको हो।
इन्द्रको ब्रह्महत्यासँग जोडिएको किंवदन्ती
ऋषि पञ्चमीको पृष्ठभूमि महिलाको रजस्वलासँग जोडिएको धार्मिक किंवदन्तीसमेत प्रचलित छ। प्राचीन समयमा इन्द्रले विश्वरूपको शिर तीन टुक्रा पारेर हत्या गरेपछि ब्रह्महत्याको पाप भोग्नुपरेको र त्यसको निवारणका क्रममा ब्रह्माले उक्त दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाएर बाँडेको धार्मिक कथन छ।
धार्मिक ग्रन्थमा उल्लेखित मान्यताअनुसार त्यसैको परिणामस्वरूप उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा देखिने फिँज तथा महिलामा रजस्वला हुने अवस्था आएको विश्वास गरिन्छ।
यसै धार्मिक विश्वासका आधारमा ऋषि पञ्चमीका दिन दत्तिवन, गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा पञ्चगव्य सेवन गर्ने परम्परा रहेको पण्डित मधुसुदन सुवेदीले बताएका छन्। उनले यस विषयलाई आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नरोपी उम्रेका अन्न खाएर व्रत बस्ने परम्परा
स्नान तथा पूजा–आराधना सम्पन्न गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलालगायतका खाद्य पदार्थ खाएर एक छाक हविष्य बस्ने व्रतविधि रहेको छ।
ऋषि पञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिलाको भीड लाग्ने गर्छ। मन्दिर जान नसक्ने महिलाले नदी किनार वा घरमै सप्तऋषि तथा अरुन्धतीको पूजा–आराधना गर्ने गरेका छन्।














