डोनाल्ड ट्रम्प प्रशासनले २.८ अर्ब अमेरिकी डलरको प्रस्तावित हतियार सम्झौताअन्तर्गत इजरायललाई दुई हजार पाउन्ड क्षमताका ४० हजार शक्तिशाली बम उपलब्ध गराउने तयारी गरिरहेको रोयटर्सले जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, प्रस्तावित प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम रहेका छन् ।
यो सम्झौताको ठूलो हिस्सा ‘फोरेन मिलिटरी फाइनान्सिङ’ मार्फत भुक्तानी गरिने बताइएको छ । यस व्यवस्थाअन्तर्गत अमेरिकाले इजरायललाई उपलब्ध गराउने सैन्य सहायता रकमबाटै इजरायलले हतियार खरिद गर्नेछ ।
हतियार प्याकेज अझै अन्तिम चरणमा नपुगेकाले आफ्नो परिचय गोप्य राख्ने सर्तमा अमेरिकी अधिकारीहरूले यसबारे जानकारी दिएका हुन् । समाचारमा जनाइएअनुसार यसबारे अमेरिकी कंग्रेसलाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ ।
गाजामा बढ्दो अन्तर्राष्ट्रिय दबाब र नाजुक युद्धविरामका बाबजुद हिंसा जारी रहेका बेला यो कदम अघि बढाइएको हो । सन् २०२४ मा तत्कालीन बाइडेन प्रशासनले घनावस्ती रहेको गाजामा ठूलो संख्यामा सर्वसाधारण हताहत हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै दुई हजार पाउन्डका यी बमको एक खेप रोकेको थियो । तर, डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेपछि उक्त प्रतिबन्ध हटाइएको थियो ।
यसअघि ट्रम्प प्रशासनले कंग्रेसको सामान्य समीक्षा प्रक्रियालाई पन्छाउँदै इजरायलका लागि ३५ हजार ५०० भन्दा बढी बमसहित करिब तीन अर्ब डलरबराबरको हतियार सम्झौता स्वीकृत गरेको थियो । त्यसपछि जनवरीमा ६.६७ अर्ब डलरबराबरको अर्को हतियार प्याकेजलाई पनि स्वीकृति दिइएको थियो ।
फेब्रुअरीमा दुवै देशले इरानविरुद्ध युद्ध सुरु गरेपछि ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच केही मतभेद र तनाव देखिएको थियो । यद्यपि, नयाँ प्रस्तावित सम्झौताले दुई देशबीचको सैन्य तथा रणनीतिक गठबन्धन अझै बलियो रहेको संकेत गर्ने बताइएको छ ।
दुई हजार पाउन्डका बमका विभिन्न संस्करण हुन्छन् । केही बम भूमिगत वा जमिनभित्र रहेका लक्ष्य भेदनका लागि डिजाइन गरिएका हुन्छन् भने केही जमिनमाथि विस्फोट भएर ठूलो क्षेत्रमा क्षति पुर्याउन सक्छन् ।
विज्ञहरूका अनुसार, इजरायलले गाजामा हमासको सुरुङ सञ्जाललाई निसाना बनाउन अमेरिका निर्मित यस्ता हतियार प्रयोग गरेको छ । तर, घनावस्ती भएका क्षेत्रमा यस्ता शक्तिशाली बम प्रयोग गर्दा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।
अक्टोबरमा युद्धविराम लागु भएपछि मुख्य भिडन्त कम भए पनि इजरायली हमलाहरू पूर्ण रूपमा रोकिएका छैनन् । हमास तथा अन्य सशस्त्र समूहले इजरायली सैनिकमाथि आक्रमण गरेको र त्यसको जवाफमा मात्र हवाई हमला गरिएको इजरायलको दाबी छ ।
यसैबीच, ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले युद्धविराम सम्झौतालाई अघि बढाउन तथा हमलाहरू कम गर्न इजरायली प्रधानमन्त्री नेतन्याहुसँग छलफल गरिरहेका छन् ।














