सहमतिका लागि महाधिवेशन स्थगित गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह

Image

 नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापालाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद गर्न आग्रह गरेका छन् । 

बिहीबार थापालाई सम्बोधन गर्दै नेता खड्काले विगतमा आफूहरूबीच भएको संवादकै क्रममा निर्णय लिइएको भए कांग्रेस एकताबद्ध भएर सानेपामा उभिन सक्ने अवस्था बन्ने दाबी गरेका छन् । 

“तपाईं आज जुन निर्णयमा पुग्नुभयो, त्यो निर्णय वैशाख २१ मा हामीबीच भएको संवादपछि त्यही महिनामा निर्णय गर्नुभएको भए, जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो,” खड्काले भनेका छन् । 

उनले समयको शक्तिलाई बुझेर थापाले पुनः कठोर संकल्प गर्नुपर्ने बताएका छन् । उनले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न सुझाव दिएका छन् । 

त्यसपछि १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवासहित अन्य अग्रज नेतासँग थापाले आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने उनको आग्रह छ । 

“तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्ष नेता शेरबहादुर देउवा अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस् । मलाई विश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ,” उनले भनेका छन् । 

खड्काले कांग्रेसका दुई पक्षबाट अलग–अलग महाधिवेशन गरिए पार्टी विभाजन रोक्न कठिन हुने चेतावनी समेत दिएका छन् । थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण कुनै समस्या नपर्ने दाबी गर्दै तत्काल निर्णायक कदम चाल्न उनले आग्रह गरेका छन् ।