कुलेखानीमा पानीको सतह १,५२३.२७ मिटरमा : विद्युत् उत्पादन बढाइयो

Image

अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएको छ । शुक्रबार (असोज ९) दिउँसो ३ बजेको मापनमा जलाशयमा पानीको सतह एक हजार ५२३.२७ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिए ।

जलाशयमा पानी औसत प्रतिघण्टा १० सेन्टिमिटरले बढिरहेको छ । कुलेखानी जलाशयको अधिकतम क्षमता एक ५३० मिटर हो ।

यसबाट कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजना सञ्चालन हुन्छन् । कुलेखानी–१ को जडित क्षमता ६० मेगावाट छ । दोस्रोको ३२ र तेस्रोको १४ मेगावाट छ ।

वर्षा निरन्तर भइरहेकाले अहिले उक्त आयोजनाबाट पूर्ण रूपमा विद्युत् उत्पादन गरिएको तिम्सिनाले जनाए ।

प्राधिकरणको लोड डिस्प्याच सेन्टर (एलडीसी)को समन्वयमा कुलेखानी जलाशयमा पानीको सतह थप बढ्न नदिन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ ।

बाँध (ड्याम) क्षेत्रमा थप अनुभवी टोली परिचालन गरिएको छ । ड्याममा जडान गरिएको डिजेल जेनेरेटर (डीजी)को परीक्षण तथा जाँच गरी दुरुस्त अवस्थामा राखिएको छ । ड्याम नियन्त्रण प्रणालीअन्तर्गत पाँच किलोमिटर दूरीसम्म सुनिने साइरनको व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

सम्भावित आपत्कालीन अवस्थाबारे स्थानीयलाई पूर्वजानकारी दिन साइरन बजाउनेसम्बन्धी सूचना तथा सचेतनामूलक सन्देश फ्लेक्स प्रिन्ट गरी देउराली, सिमखोला, हेभी, खानीखोला र सिस्नेरी प्रहरी चौकीमा राखिएको छ ।

गत वर्ष अत्यधिक वर्षाका बेला कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५३० मिटरभन्दा माथि पुगेपछि बाँधका गेट आंशिक रूपमा खोलिएको थियो ।