बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसअघि शनिबार पनि ताराखोला गाउँपालिकामै बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको थियो। पछिल्लो घटनासहित ताराखोलामा मात्रै बाढीपहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। सोही दिन निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले बेपत्ता व्यक्तिको खोजीका साथै प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धारलाई प्राथमिकता दिएको जनाएको छ।













