धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

Image

भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।

बाँधमा जम्मा भएको सिल्ट सफा गर्न परियोजनाले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँधका ढोका खोल्न लागेको हो। एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रका आधारमा बाँध खोलिने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए।

बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रशासनले नदी किनारमा नजानसमेत अनुरोध गरेको छ।

दार्चुलाबाट बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।

२८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले बाँध खोल्नुअघि नेपाली पक्षलाई जानकारी गराउँदै आएको प्रजिअ अर्यालले बताए। यसअघि पनि गत साउन १३ गते परियोजनाको बाँधका ढोका खोलिएको थियो।