अमेरिकामा बेपत्ता नेपाली नर्स ममताका पति नरेशविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

Image

अमेरिकाको भर्जिनिया राज्यमा पर्ने मानसस पार्कस्थित घरबाटै नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको २ वर्षभन्दा बढी समयछि उनका पतिविरुद्धको मुद्दामा अदालतले आज (सोमबार) सुनुवाइ सुरु गर्दै छ।

त्यस समय २८ वर्षकी ममता सन् २०२४ जुलाईदेखि सम्पर्कविहीन छिन्। उनको मृत्यु भइसकेको निष्कर्षमा पुगिए पनि अहिलेसम्म शव फेला परेको छैन।

उनको हत्या अभियोगमा उनकै पति नरेश भट्ट प्रहरीको हिरासतमा छन्। उनैविरुद्धको मुद्दामा आज सुनुवाइ थालिने भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार मुद्दाको सुनुवाइ झन्डै सात हप्तासम्म चल्ने अनुमान गरिएको छ।

प्रिन्स विलियम काउन्टीकी न्यायाधीश किम्बर्ली इरभिङले सञ्चारमाध्यमलाई अदालतभित्र क्यामेरा राखेर सुनुवाइ रेकर्ड गर्न अनुमति दिएकी छन्। तर मुद्दाको प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।

सञ्चारमाध्यमले रेकर्ड गरिएको भिडिओ समाचारमा प्रयोग गर्न सक्नेछन्। तस्बिर खिच्न पनि पाउनेछन्। यद्यपि सुनुवाइ अघि बढ्दै जाँदा क्यामेरा प्रयोगसम्बन्धी व्यवस्था परिवर्तन हुन पनि सक्ने न्यायाधीशले बताएकी छन्।

२०२४ अगस्टमा ममता हराएको रिपोर्ट आएपछि प्रहरीले खोजी सुरु गरेको थियो। यसको केही सातापछि उनका श्रीमान् नरेश भट्टलाई प्रहरीले पक्रेको थियो।

ममताको शव अहिलेसम्म फेला परेको छैन। अभियोजन पक्षले शयनकक्ष र बाथरुममा भेटिएका रगत तथा अन्य प्रमाण अदालतमा प्रस्तुत गर्ने तयारी गरेको छ। अनुसन्धानकर्ताहरूले ममताको मृत्यु २०२४ जुलाई ३० मा भएको हुन सक्ने बताएका छन्।

अनुसन्धानका क्रममा नरेशले ममता बेपत्ता हुनुअघि र त्यसपछि गरेका विभिन्न अनलाइन खोजी तथा फोन गतिविधिलाई पनि प्रमाणका रूपमा प्रस्तुत गर्दै छ। नरेशले भने आफू निर्दोष रहेको दाबी गरिरहेका छन्।