रुपन्देहीमा गोली चलाएका एक व्यक्तिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । देवदह नगरपालिका–४ का ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट गोली चलाएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनले चलाएको गोली लागेर बुटवल उपमहानगरपालिका–९, मिलनचोकका २२ वर्षीय रायन खत्री घाइते भएका छन् । शनिबार (असोज १७) अपराह्न करिब पौने ४ बजे खरेलले एक राउन्ड गोली चलाएका रुपन्देही प्रहरीका प्रवक्ता एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
घटनाको अनुसन्धानका क्रममा देवदह–४, मितेरी गाउँका ३८ वर्षीय कमल शर्मा र सोही स्थानका २६ वर्षीय अमृत खरेललाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोलीबाट खत्रीको दाहिने गालाको छाला खोस्रिएको छ । देवदह मेडिकल कलेज भलुहीमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएपछि खटिएको प्रहरी टोलीले आरोपितलाई शनिबारै नियन्त्रणमा लिएको हो । घटनामा प्रयोग भएको पेस्तोल र दुई राउन्ड गोली समेत बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













