रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

Image

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको चुनौती दिएको छ । नेपाली ब्याटर रोहित पौडेलले शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको हो ।

ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् ।

रोहितले १२६ बलको सामना गर्दा ‍‍८ चाैका र एक छक्काको मद्दतमा ‍‍‍१०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भएका हुन् । यो शतक रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।

अन्तिममा आएर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चाैका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाएका हुन् ।

नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमेद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् ।

आशिफ शेख तीन बलमा चार रन बनाएर आउट हुँदा इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै पेभिलियन फर्किएका थिए।

पछिल्लोक्रममा ब्याटिङ गर्न आएका करण केसी, नन्दन यादव र ललित राजवंशीले नेपालका लागि रन जोड्न सकेनन् । केसी चार रन बनाएर आउट हुँदा नन्दन र ललित दुईदुई रनमा आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेले दुई रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न क्यानडाका अखिल कुमारले चार विकेट हात पार्दा सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे । केहीबेरमा नेपालले क्यानडाविरुद्ध बलिङ गर्नेछ ।