पाइलटले अपहरणको संकेत पठाएपछि जर्मनीबाट दिल्ली आउँदै गरेको विमान आकस्मिक अवतरण

Image

जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्ली आउँदै गरेको एयर इन्डियाको विमान अपहरणको चेतावनी प्राप्त भएपछि राजस्थानको जयपुरमा आकस्मिक अवतरण गरिएको छ। बुधबार बिहान भएको घटनापछि विमानस्थलमा सुरक्षा सतर्कता बढाउँदै विमान र यात्रुहरूको जाँच गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार, एयर इन्डियाको उडान नम्बर एआई २०३० अन्तर्गत सञ्चालित बोइङ ७८७–९ विमानका पाइलटले अपहरणसम्बन्धी चेतावनी दिएपछि विमानलाई जयपुर अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडिएको थियो।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) का स्रोतका अनुसार, विमान आकाशमा रहँदा पाइलटले अन्तर्राष्ट्रिय आपत्कालीन संकेत नम्बर ‘७५००’ प्रसारण गरेका थिए। उक्त कोड विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको जनाउन प्रयोग गरिन्छ। हवाई ट्राफिक नियन्त्रण कक्षले संकेत प्राप्त गरेपछि विमानको मार्ग परिवर्तन गरिएको बताइएको छ।

यद्यपि, प्रहरी स्रोतले भने फ्र्याङ्कफर्ट–दिल्ली उडानमा बम राखिएको धम्की आएपछि विमानलाई आकस्मिक अवतरण गराइएको जनाएको छ। मालवीय नगरका सहायक प्रहरी आयुक्त शिव दयालले विमानस्थलका अधिकारीहरूले बमको धम्कीबारे प्रहरीलाई जानकारी गराएको बताएका छन्। उनले यसबारे भारतीय समाचार संस्था पीटीआईलाई जानकारी दिएका हुन्।

जयपुरमा सुरक्षित अवतरण गरेपछि विमानलाई थप सुरक्षा जाँचका लागि छुट्टै स्थानमा राखिएको थियो। प्रारम्भिक विवरणअनुसार, विमानमा सवार यात्रु र चालक दलका सदस्यलाई चरणबद्ध रूपमा बाहिर निकालेर सुरक्षा जाँच गरिएको थियो। यात्रुहरूका सामानसमेत जाँच गरिएको बताइएको छ।

घटनापछि विमानस्थलमा आतंकवादविरोधी दस्ता (एटीएस), विमानस्थल सुरक्षा निकाय र स्थानीय प्रहरी परिचालन गरिएको थियो। नयाँदिल्लीमा राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) लाई समेत तयारी अवस्थामा राखिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनाको वास्तविक प्रकृति र चेतावनीको स्रोत पत्ता लगाउन डिजिसिएले अनुसन्धान गरिरहेको छ। अपहरणको संकेत र बमको धम्कीमध्ये कुन कारणले विमानको मार्ग परिवर्तन गर्नुपरेको हो भन्नेबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

समाचार तयार पार्दासम्म एयर इन्डियाले घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सुरक्षा निकायको जाँच र अनुमति प्रक्रिया पूरा भएपछि यात्रुहरूलाई पुनः विमानमा चढाइने बताइएको छ।