बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ देवीका स्वरूपलाई नवदुर्गा भनिन्छ।
धार्मिक मान्यताअनुसार स्कन्दमाताको प्रतिमा सिंहासनमा विराजमान र दुवै हातमा कमलपुष्प लिएकी स्वरूपमा वर्णन गरिएको छ। स्कन्दमाताको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नौ दिनसम्म गरिएको पूजापाठपछि प्रसादस्वरूप जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
स्कन्दमातासम्बन्धी पौराणिक कथा
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा उल्लेख गरिएको पाइन्छ। एउटा कथाअनुसार, भगवान् शिव र पार्वती ऋषिहरूको सभामा पुगेका बेला सबै ऋषि उठेर स्वागत गरे पनि ध्यानमा मग्न रहेका ऋषि सनतकुमार भने उठेनन्। यसबाट असन्तुष्ट पार्वतीले उनलाई उँट बन्ने श्राप दिएको कथामा उल्लेख छ।
भगवान् शिवले ज्ञानी व्यक्तिलाई श्रापले समेत विचलित पार्न नसक्ने बताउँदै सनतकुमारको अवस्था हेर्न पार्वतीलाई साथमा लिएर गएको वर्णन पाइन्छ। पार्वतीले उँट बनेका ऋषिलाई त्यस अवस्थाको अनुभवबारे सोध्दा उनले जङ्गलका काँडा खाँदै पनि आनन्दपूर्वक ब्रह्मचिन्तनमा मग्न रहने र कुनै कष्ट अनुभव नगर्ने जवाफ दिएको कथामा उल्लेख छ।
ऋषिको ज्ञान र तपस्याबाट प्रभावित पार्वतीले आफ्नो श्रापप्रति पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरेको र सनतकुमारले उनको इच्छा स्वीकार गरी जन्म लिएको कथन पाइन्छ। यही पौराणिक कथाका आधारमा स्कन्दमाताको नाम र महिमाबारे वर्णन गरिएको मानिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गर्दा भक्तजनमा शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वासका साथ देशभर श्रद्धापूर्वक पूजा आराधना गरिँदै आएको छ।














