दुई महिनामै भित्रियो चार खर्ब ३६ अर्ब बढी रेमिट्यान्स

Image

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आवको भदौसम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले बिहीबार  सार्वजनिक गरेको देशको वर्तमान आर्थिक् तथा वित्तीय स्थितिमा उल्लेख छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार, भदौ महिनामा विप्रेषण आप्रवाह दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो । 

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३८४ अर्ब आठ करोड रहेको थियो । 

चालु आवको दुई महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७८ हजार ३२० छन् । साथै, पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।